लेटाङ नगरपालिका क्षेत्र प्राचीन समयमा धिमालहरूको राजधानी थियो । खासगरी लेटाङ बजारको पश्चिममा रहेको चिसाङ खोला तरेपछि केही उत्तरतिर जाँदा पुगिने राजारानी पोखरी भएको ठाउँमा धिमाल राजाको दरबार थियो भन्ने किंबदन्ति छ । त्यसैले यस क्षेत्रका पुराना बासिन्दाहरुको धिमालको भाषाबाट लेटाङ नाम रहन गएको भनाइ छ । यहाँका आदिवासी धिमालहरू हुन् । लेटाङको नामकरण धिमाल भाषाको लेटा शब्दबाट भएको मानिन्छ । प्राचीन धिमाल भाषामा लेटाको अर्थ पहाडबाट झरेको समथर भूभाग भन्ने हुन्छ । धिमाल पोखरी भनेर चिनिने राजारानी डाँडाबाट हेर्दा हालको लेटाङ पहाडसँग जोडिएको समथर भूभाग देखिन्छ । त्यसैले त्यसलाई धिमालहरूले लेटा भने । त्यति बेला लेटा जङ्गलले भरिएको थियो । त्यही बेलाको लेटा शव्द उच्चारण गर्दै जाँदा कालान्तरमा अपभ्रंश भई लेटाङ भएको हुनुपर्दछ । त्यही आधारमा त्यस भूमिलाई लेटाङ भन्ने गरियो । त्यही लेटा अहिलेको लेटाङ बनेको हो भन्ने बुझाइ छ ।
लेटाङ नगरपालिका क्षेत्रको ऐतिहासिक पृष्ठभूमि खोजी गर्दा यो क्षेत्र प्राचीन प्राग्ज्योतिष राज्यभित्र पर्दथ्यो । पछि गएर यसबाट मत्स्यदेश अलग हुँदा लेटाङ भेग मत्स्यदेशमा पर्न पुग्यो । यदाकदा मिथिला, पुण्ड्र र किराँतहरूको अधीनमा पर्ने तथा यस भेगका स्थानीय शासकले शासन गर्ने कार्य गर्दै पछि यो क्षेत्र मुरेहांगको मोरङ भित्र पर्यो । यसैगरी विजयपुर राज्यको स्थापना भए पछि भने लेटाङ क्षेत्र विजयपुर कै अधीनमा रह्यो ।
तत्कालीन समयमा लेटाङ क्षेत्रलाई घना जङ्गलले ढाकेको थियो भन्ने गरिन्छ । यहाँका नदी किनारा भागमा केही जातजातिका मानिसहरूका स-साना वस्तीहरू थिए । घना जङ्गलका कारण मानिसले खोला या नदीको किनारा भाग तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । लेटाङ भेगमा बेलाबेलामा पाइने पुराना बसोबासका अवशेषहरूले यसै कुराको सङ्केत गरेका छन् । लेटाङको आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरू पाइएका छन् । तिनीहरू कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन सकेका छैनन् ।
मोरङको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी पूर्वको मकवानपुर लोहांगसेनले पाएको हुनाले यो भेग पनि मकवानपुर भित्र पर्यो । यसैगरी हरिहरसेनका नाति विधाता इन्द्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्गै राज्य बनाएको हुँदा लेटाङ लगायतको स्थान विजयपुरको अभिन्न अङ्ग बन्न पुग्यो । सेनकाल भन्दा अघि नै लेटाङको सिमाभन्दा केही पश्चिम उत्तरमा रहेको कसेनीमा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले चिनिन्छ । कालान्तरमा धनपाल रजौटाको पतन भयो । धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेसँगै यो भूभाग पनि बृहत्तर नेपालमा गाभिएको पाइन्छ ।
वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेदेखि नै हालको लेटाङ नगरपालिकाले ओगटेको क्षेत्र मोरङ जिल्लाको उत्तरी भागको रुपमा रहन पुग्यो । वि.सं. २०७१ सालमा लेटाङ र भोगटेनी गा.वि.स. मिलाएर लेटाङ भोगटेनी नगरपालिका बनाइयो । नेपालको संविधान २०७२ ले अङ्गीकार गरेको संघीय गणतन्त्र नेपालको राज्य पुनर्संरचना गर्दा स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार साविक लेटाङ भोगटेनी नगरपालिकाको १ नं. वडा बाहेक सबै, जाँते गाउँ विकास समितिका १,२,५,६,७,८ र ९ वडाहरू र वारङ्गी गाउँ विकास समितिको सम्पूर्ण वडाहरूलाई मिलाएर वि.सं. 2073/11/27 मा लेटाङ नगरपालिका बनाइएको हो ।